ताजा अपडेट

सेवाग्राहीमैत्रि बजार

          |   257 Views   |   Published Date : 1st July 2016 |

यतिबेला वर्षातको मौसम छ । यो समयमा अखाद्य बस्तुहरुका कारण धेरै मानिसहरु बिरामी हुने गर्दछन् । यस्तो अवस्थामा बजारलाई सही तवरबाट सञ्चालन गर्न सबै पक्षले भूमिका खेल्न जरुरी छ । बजारलाई व्यवस्थित बनाउने काम प्रशासन र यहाँका सरोकारवाला निकायको हो । पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय दाङ र सरोकारवाला अन्य विभिन्न निकायहरुले बजार अनुगमनको सवालमा तदारुकता देखाएको पाइएको छैन । बजार भाउमा एकरुपतादेखि खानयोग्य बस्तुहरुको बिक्री बितरण हुनुपर्छ भन्ने उद्देश्यसहित प्रशासनले नियमितरुपमा बजार अनुगमन गर्नुपर्छ । सबै पक्षको सहभागितामा हुने बजार अनुगमनले बजारलाई सहीरुपमा सञ्चालन गर्न सहयोग पु¥याउँदछ । सरोकारवाला निकायहरुको मौन रहने प्रवृत्तिका कारण दिनप्रतिदिन बजार सर्वसाधारणलाई सास्ती दिने किसिमको बनिरहेको छ । जसका कारण बजारमा मनपरी मूल्य लिइएका हुन्छन्, भने म्याद गुज्रिएका बस्तुहरुको बिक्री भइरहेको हुन्छ । नियमितरुपमा बजार अनुगमन भएमा यी र यावत धेरै कार्यहरुमा कमी आउँछ । व्यापार व्यवसाय सबैले गर्नुपर्छ । तर, व्यवसायिक आचारसंहिता र उत्तरदायित्व वहन गर्ने सवालमा सबैले इमान्दारिता देखाउनुपर्छ । होटलमा बिक्री बितरण भइरहेका खाने कुराहरु स्वास्थ्यका लागि हानिकारक हुनु हुँदैन ।
स्वास्थ्यलाई नै गम्भीर असर पुग्नेगरी कसैले पनि खानेकुरा बिक्री गर्नुहुँदैन । सम्बन्धित निकायहरुले निरन्तर होटल, पसलहरुमा अनुगमन गर्नुपर्छ । व्यवसायीले पनि सुधार गर्दै लग्नुपर्छ । सरोकारवाला निकायहरुले सुधारका लागि समय पनि दिएका छन् । यस हिसाबले पसलेहरुले बिक्री गर्ने खानेकुरा खानलायक बनाएर मात्र बिक्री गर्नुपर्छ । होटेलमा खानेकुरा बनाउने, राख्ने स्थान सरसफाईयुक्त हुनु नितान्त जरुरी छ । सरसफाई मैत्री होटलहरु होऊन् भनेर प्रशासनले समय पनि दिएको छ । नागरिक भएका नाताले आफ्नो व्यवसायलाई नागरिकमैत्री बनाउनैपर्छ । प्रशासनले दिएको अल्टिमेटमभित्र पनि होटेलहरुले सुधारको बाटो अपनाएनन् भने त्यस्ता पसलेहरुलाई कानुनी कारवाही गर्नुको विकल्प छैन । मानिसको स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो । फोहोर स्थानमा बिक्री हुने खानेकुराले मानिसमा विभिन्न रोगहरु लाग्दछ ।
मानिसलाई रोगको भारीबाट मुक्त बनाउनका लागि सबै होटलहरु सरसफाई मैत्री हुनैपर्छ । होटलमा बनाइने खानेकुरामा अखाद्य बस्तु मिसावट धेरै हुन्छ भन्ने पनि बेला मौकामा गुनासाहरु सुनिन्छन् । खानेकुरामा हुने मिसावट कार्य पनि रोक्ने सवालमा प्रशासनले ध्यान दिनुपर्छ । खानेकुरामा हुने मिसावटले सर्वसाधारण नागरिकहरु मारमा परिरहेका हुन्छन् । सर्वसाधारणको आशालाई निराशामा परिणत हुन नदिन प्रशासन र सरोकारवाला निकायहरुले गम्भीरताका साथ बजार अनुगमनलाई जारी राख्नुपर्छ । कुनै पनि व्यवसायलाई हतोत्साहित बनाउनु भन्दा पनि भएका कमिकमजोरीहरु सच्चाउने उद्देश्यसहित होटल, खाद्यपदार्थ बिक्री गर्ने पसल, मासु पसललगायतका मानिसको स्वास्थ्यसँग प्रत्यक्ष प्रभाव पार्ने सबै पसलहरुमा अनुगमन गर्नेतर्फ सम्बन्धित निकायहरुको ध्यान पुग्नैपर्छ । राम्रो काम गर्नेलाई पुरस्कार र खराब काम गर्नेलाई निरुत्साहित पार्ने उद्देश्य र योजनासहित बजार अनुगमनलाई तीब्रता दिइएमा राम्रो हुनेछ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१