ताजा अपडेट

महोत्सवको लहर र यसको आयु

        गोपाल भुुसाल “अभिलाषी”   |   200 Views   |   Published Date : 18th March 2016 |

परम्परा देखि धार्मिक स्थल, नदि तटमा विशेष चाडपर्वका शुभ दिनहरुमा आध्यात्मिक र स्वास्थ्य लाभको दृष्टिले मेला लाग्ने चलन नेपाली संस्कृितमा रही आएको छ । जस्तो शिव रात्री, माघे संक्रान्ति कोजाग्रत पूर्णिमा, चैते दशै, मंसिरे पूर्णिमा आदी । यस मेलाले वर्षको एक पटक स्थानीय उत्पादनहरुको हाट बजारको रुप लिएको पनि मान्न सकिन्छ । यही मेलाले अहिले नाम रुप फेरेर महोत्सवको नाम पाएको छ । शहरी मोेडेलको बन्न पुगेको छ । यसको दायरापनि फराकिलो बनेको छ । यसको खास वर्तमान सोच भनेको पर्यटन विकास हो । विशेष गरी विदेशीलाई देश, जिल्लामा भित्राएर डलर कमाउने हो । देशभित्रको कुन पक्षको विकास गरेर विदेशीलाई देखाएर डलर तान्न सकिन्छ त भन्ने सवालमा यहाँ धेरै विषय समेटिन पुगेका छन् । भारत, चिन तथा अन्य देशमा तिर्थाटन, विदा मनाउने, हनीमुन मनाउने, पर्वतारोहन गर्ने, नयाँ नयाँ सोध खोज अनुसन्धान गर्ने स्थलको रुपमा धेरै पहिले देखि विकसित भएको देखिन्छ र त्यस्ता ठाउँमा पुग्नलाई देश, राज्यहरुले सहज वातावरण मिलाएर आर्थिक स्रोतको माध्यम वनाएको पाइन्छ । हाम्रो देशमा पनि यस्ता ठाउँ र सामाग्रीहरु प्रशस्त छन् तर भर्खर मात्र अलि विशाल सोचको रुपमा आउन थालेको छ ।
मेला, महोत्सव विभिन्न थरीको हुन सक्छ । कृषि महोत्सव, व्यापारिक महोत्सव, प्रविधि, पुस्तक, कपडा, गहना, उद्योग, सांस्कृतिक, धार्मिक महोत्सव आदि–आदि यी सबै छुट्टाछुट्टै र समष्टिगत पनि हुन सक्छ तर महोत्सवको मूल मर्म पर्यटन विकासमा टेवा पु¥याउनु हो । आफ्नो देशको विशेषता विदेशीलाई देखाउने, चिनाउने हो भने हामीले हाम्रा मौलिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक, धार्मिक, वातावरणीय, कला कौशल र साहित्यिक पक्षको विकास र संग्रहको आवश्यकतामा ध्यान दिनुपर्छ । वास्तवमा  हाम्रा यी जीवन शैली संस्कृतिका सबै चिजको चित्र, बृत्तचित्र, नक्सा, सम्भव भए वस्तु नै संग्रह गरी नमूनाको रुपमा संग्रहालय बनाउनुपर्ने देखिन्छ तब मात्र त्यसको अध्ययन, अनुसंधान ,सम्भाव्यता, सोध खोज, अन्वेषण हुदै जान्छ र त्यसको विषेशता , महिमाको अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार हुँदै जान्छ । अहिले पश्चिमी सभ्यता संस्कृतिले च्यापीरहेको अवस्था छ । हामी तिर टेक्नोलोजिकल विस्तार भई रहेको समय छ । जसको कारणले हाम्रो मौलिक संस्कृतिका जीवन शैलीको पक्षमा ह्रास आउदै गरेको छ । विदेशबाट आएका कुरा कुन कति हाम्रो लागि हितकर वा अहितकर छन् ? कति स्वाधिन र पराधिन तिर धकेल्ने खालका छन् । धेरैले यस तर्फ विचार नै गर्दैनन् । भौतिक विकासको चरम सिमामा पुगेका देशबाट आएका सबै ठिकै त होला भनेर उतैको हावामा हामी बग्न थालेका छौं । आफ्नो देशमा भएका र अरु देशमा नभएका मौलिक विषेशताहरुलाई भुसुक्कै विर्सिन थालेका छौं । विश्व परिवर्तनको काल चक्र हो कहिले नयाँले ठाउँ लिन्छ । कहिले पुरानोले । हुन सक्छ एक दुई शताब्दी पछि यहाँको सभ्यता संस्कृति कस्तो थियो । यहाँका मानिसको चालचलन, जिवन निर्वाहका साधन तरिकाहरु के कस्ता थिए भनी खोजी गर्ने दिन पनि आउन सक्छ । कुनै समयमा गएर हाम्रा संस्कृतिका सवै पक्ष श्रेष्ठ, उत्तम, बैज्ञानीक थिए भन्ने दिन पनि आउन सक्छ । अर्को कुरा विदेशीहरु हाम्रो देशमा आए भने हामीले उनीहरुको देशमा भएको वातारण देखाउने होइन । त्यो त उनीहरुलाई थाहा नै छ । भोगी नै सकेका छन् । उनीहरुलाई हामीले हाम्रो माटोको छुट्टै खालको अनुहार देखाएर बेग्लै स्वाद चखाउने हो । नयाँ चिजको महसुश गराएर उनीहरुको आवागमन धेरै र दिर्घकालिन गराउने प्रयत्नमा लाग्ने हो । तव डलर स्वतः तानिन सक्छ ।
अहिले महोत्सवको उद्देश्य सांस्कृतिक संरक्षण र पर्यटन विकास भनेपनि यो विभिन्न निर्माण कार्यको वाहना वनाएर नितान्त व्यापारिक मेला बन्न पुगेको छ । शहर केन्द्रित व्यपारिक पसल, सर्कस, पिङ, नृत्य, गायन र कालाकारहरुलाई जमघट गराएर मनोरन्जनात्मक रुप दिने र पैसा खिच्ने माध्यम भएको छ । अहिलेको देशको राजनैतिक अस्तव्यस्तता, व्यापारिक कालोबजारीले ल्याएको महङ्गी, विद्युत लोडसेडीङले ल्याएको उद्योग व्यवसायको घाटा, नाकाबन्दीले ल्याएको इन्धनको अभाव जस्ता कारणले मर्माहत भएको नेपाली समाजलाई केवल मनोरन्जनात्मक खेल तामासा देखाएर अझ प्रत्यक्ष अप्रत्यक्ष सहयोगको दवाव दिएर लाखौ करोडौ खर्च गर्नु सामाजिक हितको दृष्टिले उचित भन्न सकिदैन । भोलाभाला महिला, केटाकेटीलाई भड्कीलो, खर्चिलो दिशा तिर धल्केल्ने खालका प्रर्दशन गर्नु कुनै सज्जन व्यक्तिलाई चित्त बुझदैन । यदि महोत्सवलाई यस्तै रमझमकै रुपमा अतिरन्जित प्रचारवाजी गरियो भने यसको लहर पनि आफै सेलाएर जाने छ । बरु यस्ता महोत्सवहरुमा हामीले विदेशी, छिमेकीलाई देखाउन स्थानीय स्तरका हाम्रा मौलिक ढाँचाका घरेलु उद्योग, गहना, पहिरण, भोजन, बाजा, चरा, जनावरहरु, रुखबृक्ष, फल बर्ग, फूल वर्ग, गित, संगित, मूृर्तिकला, शिल्प कला, भाषा, साहित्यिक रचना, ऐतिहासिक क्षेत्र, धार्मिक क्षेत्र, चर्चित पुरुष, प्राकृतिक ताल तलैया, छहरा गुफा, औषधि जन्य जडिबुटीहरुको संकलन, संग्रह र प्रर्दशनी तिर केन्द्रित हुनु पर्छ जस्तो लाग्छ । जुन चिज स्वाभाविक रुपले सबैको लागि रोचक, रुचिकर, रहस्यमय, सिक्नलायक ज्ञानबद्र्धक, शिक्षाबद्र्धक हुन सक्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन