धारपानीमा बृहत साँस्कृतिक कार्यक्रम हुने
घोराही, फागुन ५ । दाङको प्रशिद्ध धार्मीक स्थल पाण्डवेश्वर मन्दिर धारामापानीमा दुई दिने साँस्कृतिक कार्यक्रम हुने भएको छ । धर्ना गाविसस्तरीय युवा सञ्जालको आयोजनामा यही फागुन २३ र २४ गते बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।
महा शिवरात्री पर्वको अवसरमा आयोजना गरिएको दुईदिने साँस्कृतिक कार्यक्रममा केन्द्रीय चर्र्चित कलाकारहरुका साथै स्थानीय कलाकारहरुले मनोरञ्जन दिने भएका छन् । आयोजक युवा सञ्जालले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी साँस्कृतिक कार्यक्रम आयोजनाका बारेमा जानकारी दिएको छ ।
विश्वकै ठूलो त्रिशुल रहेको पाण्डवेश्वर मन्दिर धारापानीलाई चिनाउन र त्यस स्थानको विकासका लागि साँस्कृतिक कार्यक्रम गर्न लागिएको सञ्जालका अध्यक्ष गुमानसिंह कार्कीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा नायक बिराज भट्टसहित शंकर बिसी, पार्वती राई, ज्योती मगर, कमल गाउँलेसहितका केन्द्रीय तथा स्थानीय कलाकारहरु विक्रम थापा, अभिमन्यू गिरी, विवेक बुढाथोकी, अंकित न्यौपानेको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासनले धार्मीक आस्थासँग जोडिएको मन्दिर क्षेत्र भएकाले साँस्कृतिक कार्यक्रमलाई मर्यादित बनाउन सुझाव दिनुभयो । त्यसैगरी विशिष्ट अतिथि मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले धारपानी धामको विकास र प्रचारका लागि सहयोगी भुमिका खेलिदिन सबैलाई आग्रह गर्नुभएको छ । साँस्कृतिक कार्यक्रममा प्रवेशका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रशान्त वलीले गर्नुभएको थियो ।

Leave a comment