प्रेम दिवसको सान्दर्भिकता
आज प्रेम दिवस । नेपालमा पनि पछिल्ला दिनहरुमा यस दिवसको महत्व ह्वात्तै बढेको छ । खासगरी युवा पीढिहरुले यो दिवसलाई बढी प्रयोग गरेको पाइन्छ । तर, प्रेमको उमेर, रंग, जात, वर्ग हुँदैन । मानव जन्मेदेखि नमर्दासम्म प्रेमको फरक फरक आयामसंग जोडिएको हुन्छ । तर, यहाँ उठाउन खोजिएको प्रेमको प्रसंग केटाकेटीबीच हुने प्रेमको हो । प्रेम जोसँंग, जतिबेला पनि हुन सक्छ । प्रेममा परेको मन रोमाञ्चकताले भरिपूर्ण हुन्छ । प्रेमले सबैलाई खुसी बनाउँछ । त्याग, समर्पण, निष्ठा र शालिनताले भरिपूर्ण प्रेम नै बास्तविक प्रेम हो । तर, दुःखका साथ भन्नुपर्छ, पछिल्ला दिनहरुमा प्रेमलाई सस्तो बनाउने खेलले पनि बढावा पाएको छ ।
दिनदिनै प्रेमी–प्रेमिका फेर्ने, कसले कति धेरै प्रेमी–प्रेमिका फेर्छ भन्ने होडबाजी पनि युवा पुस्तामा देखापरेको छ । जसले गर्दा प्रेमजस्तो पवित्र कुरा बदनाम भएर लिलाम भइरहेको छ । स्वार्थमा लिप्त व्यक्तिहरुका कारण कतिपय समयमा साँचो प्रेम गर्नेहरुले सास्ती बेहोरिरहेका हुन्छन् । प्रेम विभिन्न तवरबाट हुन्छ । युवा अवस्थादेखि बृद्धावस्थामा समेत प्रेम हुन सक्छ । दुई आत्माबीचको सामिप्यताले प्रेम हुन्छ । कुनै व्यक्ति बिहे पूर्व प्रेममा परेको हुन्छ भने कोही विवाहपछि जीवनसंगीनीसँंग प्रेममा पर्दछ । प्रेम खुसी, सन्तुष्टिको संगम हो । त्यसैले प्रेमलाई जीत–हार, स्वार्थसँंग कहिल्यै गाँस्नु हुँदैन । कसैलाई मन पराएपछि पाउनैपर्छ भन्ने पनि हुँदैन, साँचो प्रेम गर्नेहरुले त्यागमा पनि प्रेमको भरपुर आनन्द उठाउन सक्छन् । प्रेम दिवसको सेरेफेरोमा समाज उभिएकाले प्रेमको बास्तविक अर्थलाई आत्मसात गर्ने सवालमा सबैले ध्यान दिनुपर्छ ।
प्रेमलाई देखासिकीको साधन बनाउने काम कसैले गर्नु हुँदैन । आफूले मन पराएको व्यक्ति, माया गर्ने व्यक्तिलाई निःश्वार्थरुपमा आफ्नो गक्ष अनुसारको उपहार दिने, मिठो–चोखो खाने, साथै बस्नेलगायतका कार्यहरु गरेर प्रेम दिवस मनाउनुपर्छ । प्रेमलाई सामाजिक कार्यसँग जोडेर मनाउन सकेमा अझ राम्रो हुनेछ । प्रेमरुपी दियो बालेको मनले आफ्नो प्रेमी, प्रेमीकाको नाममा सहयोगी हातहरु फिजाएर पनि प्रेम दिवस मनाउन सकिन्छ । प्रेमलाई व्यवहारिकताभित्र ढालेर विश्लेषण गर्न सक्नेहरु प्रेममा सफल पनि हुन्छन् । समाजले संयोगान्त प्रेम खोजेको छ । यसका लागि घातप्रतिघातका सबै खेलहरुलाई तिलाञ्जली दिनुपर्छ । जसले पवित्र मन, पवित्र आत्माले प्रेम गर्दछ, त्यसको जीवनमा हरेक दिन प्रेम दिवस हुन्छ । प्रेम दिवसको सन्दर्भमा सबैलाई शुभकामना ।

Leave a comment