व्यक्तिवादी चिन्तन, दलगत र गुटगत स्वार्थको तिलाञ्जली आवश्यक
आज माघ १६ गते, अर्थात सहिद दिवस । देश र जनताको अधिकारका लागि आफ्नो जीवन आहुति दिएका व्यक्तिहरुको सम्मानका लागि राज्यले छुट्टाएको विशेष दिन । यस अवधिमा मुलुकभर विभिन्न कार्यक्रमहरु हुने गर्दछन् । सहिद दिवसको सेरोफेरोमा मुलुकभर सप्ताहव्यापि कार्यक्रमहरु समेत गरिन्छ । हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । बिक्रम सम्वत् १९९७ सालमा जहानीया राणा शासनका बिरुद्धमा आवाज उठाउँदा ज्यान गुमाएका धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र शुक्रराज शास्त्रीको स्मरणमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । त्यस्तै पछिल्लो समयमा भएका परिवर्तनकामी आन्दोलनकाक्रममा ज्यान गुमाएका व्यक्तिहरुको स्मरण पनि माघ १६ गते नै गर्ने परिपाटीको स ुरुवात गरिएको छ । तर, बिडम्वना नै भन्नुपर्छ, परिवर्तनका लागि ज्यान आहुति दिने सहिदहरुको संख्या बृद्धि भएपनि जनताले चाहे जस्तो समाज निर्माण गर्न सकिएको छैन । दलहरुले जनतालाई मुलुकको संविधान दिएपनि त्यसलाई प्रत्याभूति हुने अवस्था अहिलेसम्म सिर्जना भएको छैन । भारतको नाकाबन्दी र मधेशमा जारी आन्दोलनका कारण मुलुक दिनप्रतिदिन संकटतर्फ धकेलिदै गइरहेको छ ।
सहिदको स्मरणमा साताव्यापी कार्यक्रम हुने गर्दछ । सहिद सप्ताह मुलुकमा जारी भएकाले सबै नेताहरुलाई मुलुकको साझा एजेण्डामा उभिनका लागि सहिदहरुको बलिदानीले शक्ति प्रदान गर्नुपर्छ । सहिद भन्नासाथ मुलुकको शिर गर्वले ठाडो हुन्छ । यो शब्द सम्मानित शब्द हो । देश र जनताका लागि निःस्वार्थ ज्यानको आहुति दिने व्यक्तिहरु भएकाले पनि सहिदलाई माथिल्लो स्थानमा राखिएको
हो । पछिल्लो समयमा आएर सहिद शब्दको व्यापक अपमान गरेको हामीले पाएका छौं । सहिद शब्दलाई हल्कापाराबाट लिने र जस्तोसुकै प्रकृतिमा ज्यान गुमाएकालाई पनि सहिद नै मान्ने खराव परिपाटीको शुरुवात भएको छ । यी र यस्तो विडम्वनापूर्ण कार्यलाई त्याग्न सकिएन भने सहिदहरुको अपमान हुनेछ ।
सहिदहरुले कुनै एक दल वा व्यक्ति विशेषका लागि आफ्नो ज्यान गुमाएका होइनन् । सहिदहरुले सिंगो मुलुकको हितका लागि, जनताका लागि र समाज रुपान्तरण, परिवर्तनका लागि ज्यान अर्पण गरेका हुन् । सहिदहरुको यस्तो कुर्वानीलाई सिमलको भुवा जस्तै हल्का बनाउने काम गर्न सबैले छाड्नुपर्छ । सहिद दिवसका अबसरमा मुलुकलाई संकटबाट निकास दिने सवालमा सबै दलका नेताहरु गम्भीर बन्न जरुरी छ । व्यक्तिवादी चिन्तन, दलगत स्वार्थ, गुटगत स्वार्थलाई त्याग्दै मुलुकको साझा एजेण्डामा उभिन सबै नेताहरुले प्रयत्न गरेमा मुलुक समृद्धिको बाटो तर्फ अगाडि बढ्न सक्छ ।


Leave a comment