दुईवटा खानेपानीका योजना सम्पन्न हुँदै
संरचना निर्माण भएको सोह्र वर्षपछि धारामा पानी
मानपुर माघ ७ । मुहानको पहिचान नगरी भौतिक निर्माण गरिएका मानपुरका धारामा १६ वर्षपछि पानी आउने भएको छ । मुहानको खोजी नहुँदै सम्पूर्ण भौतिक पुर्वाधार निर्माण गरिए पनि मुहान नभेटिएपछि भत्किन थालेका धाराहरुमा खानेपानीका दुईवटा योजनाको निर्माण थालिएपछि अब पानी आउने भएको हो ।
गाविसका प्रत्येक टोलटोलमा धारा जडान भए पनि मुहानको अभावमा धारामा पानी नआउँदा स्थानीयहरु निरास बनेका थिए । जिल्ला विकास समितिको सहयोगमा गाविसका अधिकांश वडाहरुमा पानी बितरण गर्ने उद्देश्यले निर्माण गरिएका योजनाहरु करिव २ दशक पुग्न लाग्दा समेत जस्ताको तस्तै छन् । मुहान खोज्नु पूर्व पानी जम्मा गर्नका लागि निर्माण गरिएका ट्याङ्याकीहरु पुन ः मर्मत गर्ने अवस्थामा पुगेका छन् । तर, १६ वर्षपछि बल्ल दुईवटा योजनाको निर्माण थालिएको छ ।
बिगतका गल्तीहरुबाट पाठ सिक्दै मुहानको खोजीमा लागेको मानपुर गौरीडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भुपबहादुर केसीले बताउनुभयो । बिगतमा मुहानको खोजी नगरेर काम गर्दा करोडांैको योजना समेत अलपत्र भएको भन्दै अध्यक्ष केसीले उपभोक्ताहरु काकाकुल अवस्थामै बस्नुपरेको बताउनुभयो । अध्यक्ष केसीका अनुसार जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले केन्द्रीय योजना अनुसार मानपुर गाविसको वडानम्वर १, २, ६ का बासिन्दाहरुलाई सहजरुपमा पानी पु¥याउने उद्देश्यले करिव ४ करोडको लागतमा खानेपानी योजना सम्पन्न गर्न थालेको छ । निकट भविष्यमै योजना सम्पन्न हुने भन्दै अध्यक्ष केसीले पहिलो चरणमा ६ सय धारा बितरण गरिने र पछि थप गर्दै लैजाने समेत बताउनुभयो । योजना २० वर्षसम्मको अवधिमा मानपुर गाविसमा जनसंख्या थपिने आधारमा योजना सम्पन्न गर्न थालेको सचिव मीनराज वलीले बताउनुभयो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ४ करोडमध्ये एक प्रतिशत उपभोक्ताहरुले जम्मा गर्ने सचिव वलीले बताउनुभयो ।
त्यसैगरी पाइप लाइन खन्ने कार्यका लागि उपभोक्ताहरुले श्रमदान गर्ने समेत सचिव वलीले जानकारी दिएका छन् । हाल मानपुर गाविसको कार्यालय पूर्वतिर डीप बोरिङ खन्ने काम समेत सुरु भएको छ, भने रिजर्वायर ट्याङ्की निमार्णस्थलको काम समेत अघि बढाइएको बताइएको छ । खानेपानीको रिजर्वायर ट्याङ्की निर्माणका लागि स्थानीय बासिन्दा ढकबहादुर बस्नेतले १० धुर जग्गा समेत उपलब्ध गराउनुभएको छ ।
मानपुर गाविसका अधिकांश वडाहरुमा चैतदेखि असारसम्म खानेपानीका लागि निकै सास्ती भोग्नुपर्ने समस्या रहेको स्थानीयबासी राजेन्द्र केसीले बताउनुभयो । मानपुर गाविसको वडानम्वर १, २, ३, ४, ५ र ६ नम्वर वडाका साथै बिजौरी गाविसको वडानम्वर ७ मा सञ्चालनमा आएको योजना पुनः सञ्चालनमा ल्याउनका लागि जिल्ला विकास समितिले यसवर्ष २४ लाख रकम प्रदान गरेपछि पुन ः डिप बोरिङ खन्ने प्रक्रिया सुरु भएको मानपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष अमर खड्काले बताउनुभयो । उहाँले पहिलो चरणमा ७२ वटा सार्वजनिक धारा सञ्चालनमा ल्याइने बताउनुभयो । जिल्ला विकास समितिबाट पुन रकम प्राप्त भए निजी र थप धारा बितरण गरिने समेत उहाँले बताउनुभयो । डिप बोरिङ खन्नका लागि ठेक्का समेत गइसकेको र माघको अन्तिम सातादेखि खन्न समेत सुरु गरिने अध्यक्ष खड्काले बताउनुभयो । खानेपानीको पानी जम्मा गर्ने ट्याङ्की समेत निर्माण भएका छन् । मानपुर गाविसमा दुईवटा योजना सम्पन्न भएपछि खानेपानीको लागि सहज हुने बताइएको छ ।


Leave a comment