ताजा अपडेट

सोना सिमेन्ट गुणस्तरहिन भेटियो, धमाधम घर भत्किदै

        गणेश आचार्य   |   363 Views   |   Published Date : 20th January 2016 |

Sona-Cement2

भत्किएको घरको छत फोड्दै मजदुरहरु ।

दाङ माघ ६ । दाङको दुधरासस्थित सोनापुर सिमेन्ट उद्योगद्वारा उत्पादित ओपिसी सोना सिमेन्ट गुण्स्तरहिन भएको पाइएको छ । सोना सिमेन्ट प्रयोग गरी निर्माण गरेका घरका ढलान सेट नभएपछि दाङको तुलसीपुर र घोराहीमा उक्त सिमेन्ट प्रयोग गरेका घर धमाधम भत्काइएका छन् ।


तुलसीपुरको नयाँं बसपार्कमा घर बनाइरहेका भागिराम डाँंगीले सोना सिमेन्ट प्रयोग गरी गरिएको घरको ढलान दुई दिनसम्म सेट नभएपछि ढलान भत्काएर पुनर्निर्माण गरेका छन् । पुस १५ गते गरिएको डाँगीको घरको ढलान १७ गते खोल्दा भत्किएको थियो ।
धेरै ठाउँमा ढलान भत्किएपछि पुरै ढलान घन प्रयोग गरी भत्काइएको होे । डाँंगीको घर बनाइरहेका मिस्त्री रामशरण चौधरीले सोना सिमेन्टले गरिएको ढलान सफल नभएकाले भत्काउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सोना सिमेन्ट हालेर ढलान गरेका थियौं । तर, सेट भएन । फर्मा खोल्दा पानीसहित गिठ्ठी बालुवा र सिमेन्ट भ्वाक्क ! भ्वाक्क खस्यो । ढलानले पानी नै सोसेन । अनि पुरै ढलान फोड्नु प¥यो ।’ डांँगीले सोना सिमेन्ट प्रयोग गरी बनाएको आफ्नो घर गुणस्तरहिन सिमेन्ट परेका कारण भत्काएर फेरि बनाउनु परेको बताउनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघ नजिकै बसन्त खड्काको सोना सिमेन्ट प्रयोग गरी निर्माणाधिन घरको पनि ढलान पनि भागिराम डाँंगीको जस्तै गरी भत्किएको छ । खड्काले सोना सिमेन्टले काम नगरेपछि ढलान भत्काएर सगरमाथा सिमेन्ट प्रयोग गरेको बताउनुभयो । उहाँले सोनापुर सिमेन्ट उद्योगले आफूलाई क्षतीपूर्ती दिएको जानकारी दिनुभयो । खड्काले क्षतिपूर्तिबाफत पाएको रकम भने खुलाउनुभएन ।
सोना सिमेन्ट पीडित सबै घर धनिले सिमेन्ट गुणस्तरहिन भएको कुरा सोनाको तुलसीपुरस्थित डिलरमा जानकारी गराउनुभएको थियो । सिमेन्ट गुणस्तरहिन भएको कुरा सार्वजनिक भएपछि उद्योगमा हल्लीखल्ली मच्चिएको थियो । सिमेन्ट गुणस्तरहिन भएको कुरा सार्वजनिक हुन नदिन उद्योगले सोना सिमेन्ट पीडितहरुलाई मोटो रकम दिएको छ ।
सिमेन्ट उद्योगका नायव महाप्रबन्धक रेवन्त ढकालले सोना सिमेन्टले ढलान सेट नभएपछि पीडितलाई लागत मूल्यभन्दा ५ गुणा भन्दा बढी रकम उद्योगले क्षतिपूर्ति दिएको स्वीकार गर्नुभयो । उहाँले तुलसीपुर र घोराहीमा सोना सिमेन्ट प्रयोग गरेका घरमा समस्या आएकाले धेरै रकम तिर्नु परेको बताउनुभयो । ढकालले सिमेन्ट गुणस्तरहिन भएको स्वीकार्दै सकेसम्म यस्तो कुरा सार्वजनिक नगरिदिन आग्रह गर्नुभयोे । उहाँले भन्नुभयो, ‘हाम्रो सिमेन्टमा समस्या देखिएको छ । सिमेन्टकै समस्याका कारण घरका ढलान भत्किए । हामीले पैसा पनि तिरेका छौं । सकेसम्म यस्तो कुरा बाहिर नआएको राम्रो ।’
ठूलो मात्रामा सिमेन्ट किनेकालाई उद्योगले क्षतिपूर्ति दिए पनि थोरै खदिद गरेकालाई भने बेवास्ता गरेको पाइएको छ । तुलसीपुर–८ दुधेनाका पदम खड्काले पुस १६ गते ट्वाइलेट बनाउन लगेको सोना सिमेन्टले काम नगरेको र किनेको ठाउँंमा गुनासो गर्दा कुनै सुनुवाई नगरेको गुनोसो गर्नुभयो  । उहाँले अहिले आफूले सोना सिमेन्ट फालेर अरु कम्पनीको सिमेन्ट प्रयोग गरेको बताउनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१