महामन्त्रीमा उमेदवारी दिन्छौ : गगन थापा
दाङ, माघ ३ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता गगन थापाले आफुहरुको पुस्ताले महामन्त्रीमा उमेदवारी दिने बताएका छन् । माघ ३ मा रिपोर्टस क्लव दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले नेपाली काँग्रेसको आउदै गरेको १३ औं महाधिवेशनमा युवा पुस्ताका तर्फबाट महामन्त्रीमा उमेदवारी दिने बताए ।
पुराना पुस्ताले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नेबेला आएको बताउँदै नेता थापाले भने–‘पार्टीलाई यहाँसम्म ल्याउनका निमित्त यतिञ्जेल तपाइहरुले नेतृत्व गर्नुभयो । अब हामी नयाँ पुस्तालाई जिम्मेवारी दिनुस्, पार्टीलाई नयाँ शिराबाट अगाडी बढाऔं भनेर भनेका छौं ।’ शुसील कोइराला, रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई पहिलो पुस्ता र त्यसपछिका महामन्त्री लगायतका पदाधिकारी पुस्तालाई दोस्रो पुस्ता र त्यसपछि रहेको आफुसहितको युवा पुस्तालाई नयाँ पुस्ताका रुपमा ब्याख्या गर्दै नेता थापाले पहिलो पुस्तालाई विदाई गरेर दोस्रो पुस्तालाई सभापतिको जिम्मेवारी दिई आफु लगायतका युवा पुस्तालाई महामन्त्रीको जिम्मेवारी दिनुपर्ने बताए । काँग्रेसले अहिलेसम्म विपिको विचारलाई अगाडी ल्याएर बढेपनि अहिले समाजको संरचना निकै परिवर्तन भैसकेकाले अब अहिलेको समाज सुहाउँदो निति तथा कार्यक्रम ल्याएर काँग्रेस जनतासमक्ष जानुपर्ने नेता थापाले बताए । १३ औं महाधिवेशनबाट नेपाली काँग्रेस सैद्धान्तिकरुपमा स्पष्ट भएर जानुपर्ने बताउँदै थापाले केन्द्रीय समितिको सबै पदाधिकारीको निर्वाचन गरेर सबै तह र तप्कालाई प्रतिनिधित्व गराउने सवालमा केही कुरा तत्काल परिवर्तन गरी केही कुराहरु बिस्तारै परिवर्तन गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेसको लिड गर्छु भन्ने नेताले म यो–यो कारणले पार्टीलाई यस्तो बनाउँछु, यहाँसम्म पु¥याउँछु भनेर निति तथा कार्यक्रम ल्याएर आउनुपर्ने नेता थापाको भनाई थियो । ‘अब पार्टीको सभापति बन्छु, म पार्टीलाई हाँक्छु भनेर अगाडी आउनेले योजना ल्याएर आउनुपर्छ । यसरी गर्छु, यसरी चलाउछु भनेर केही त लेख्नुप¥यो नी । सधैं अरुले लेखिदिएर, बनाइदिएर हुँदैन’–नेता थापाले भने । पार्टीको महाधिवेशन नजिकिदै गर्दा तपाइको उमेदवारी कुन पदमा हुन्छ ? भन्ने प्रश्नमा नेता थापाले नयाँ पुस्तालाई महामन्त्री बन्न दिनुस् । तपाइहरु सभापति बन्नुस भनेर लागेको बताउनुभयो । ‘पार्टीको निर्णायक पद भनेको पदाधिकारी हो । महत्वपुर्ण निर्णयहरु पदाधिकारीले गर्दै आएको छ । हामी नयाँ पुस्ता र पुराना पुस्ता मिलेर पार्टीलाई अगाडी बढाउछौ भनेका छौ–नेता थापाले भने, मेरो व्यक्तिगत विषयमा भने केही दिनमा उमेदवारी घोषणा गर्छौ । तर, हाम्रो पुस्ताबाट महामन्त्रीमै उमेदवारी दिने हो । पार्टी बनाउन नयाँ र पुराना मिलेर अहिलेको लथालिंग अवस्थामा रहेको हाम्रो पार्टीलाई भित्रैदेखी समृद्ध बनाऔं भन्ने हो ।’ पार्टीभित्र रहेका स्थिायी गुटको अन्त्य गर्नका निमित्त पार्टीको क्रियाशिल सदस्यता दिँदा गरिने सिण्डिकेटको अन्त्य गरिनुपर्ने बताउँदै नेता थापाले पार्टी भनेको आधुनिक सँगठन भएकाले व्यवस्थापकिय पक्षलाई ख्याल गरेर निश्चित उमेरहद कायम गरिनुपर्ने बताउनुभयो ।
मुलुक अहिले निकै कष्टकर अवस्थाबाट गुज्रीरहेकाले यो समस्याको समाधान तत्काल गर्नुपर्ने थापाले बताउनुभयो । ‘हामीले भूकम्पका कारण भएको क्षतिभन्दा पनि बढी क्षति ब्याहोरिसक्यौ । अब यो समस्यालाई तत्काल हल गर्नुपर्छ–थापाले भन्नुभयो, समस्या समाधान गर्न समस्या समाधान गर्न ढिला गर्नै हुँदैन ।’ रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव विमल गौतमले गर्नुभएको थियो ।

Leave a comment