सामुदायिक र संस्थागत विद्यालयबीचको द्वन्द्व अन्त्य हुनुपर्ने
तुलसीपुर पुस २३ । सामुदायीक र संस्थागत विद्यालय बीचको द्वन्द्व अन्त्य हुनुपर्ने तुलसीपुरमा आयोजीत एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याव्सनको २६ आंै स्थापना दिवसको अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक र संस्थागत विद्यालय बीच द्वन्द्व नभई सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
सामुदायिक र संस्थागत विद्यालयले एकापसमा अनुभव आदान प्रदान गर्नुपर्ने पनि वक्ताहरुको भनाइ थियो । प्याव्सन दाङका अध्यक्ष यादव गिरीको अध्यक्षता तथा केन्द्रीय सल्लाहकार नारायण अधिकारीको प्रमुख आतिथ्यता एवं केन्द्रीय सदस्यद्वय सरिता देवकोटा र जीवनकुमार आचार्यको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै केन्द्रीय अधिकारीले प्याव्सन अब पुरानो शैलीबाट नभई समुदायको हित र विद्यार्थीहरुको सिर्जनात्मक शैलीबाट अगाडि बढाउनुपर्र्नेमा जोड दिनुभएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै प्याव्सन दाङका संस्थापक अध्यक्ष घनश्याम डाँगीले निजी विद्यालय माथि राज्यबाट भइरहेको विभेदको बिरुद्धमा सबै निजी बिद्यालयहरु एक ढिक्का भएर अगाडि बढनुपर्ने बताउनुभएको थियो ।
त्यस्तै प्याव्सनकी केन्द्रीय सदस्य सरिता देवकोटाले सरकारले लागु गरेको गे्रडिङ सिस्टम विद्यार्थीहरुको हितमा नभएको बताउनुभएको थियो । गे्रडिङ प्रणालीले विद्यार्थीको पढाईमा बाधा पुग्ने भन्दै राज्यले यो नीति लागु गर्नु आवश्यक नभएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य जीवनकुमार आचार्यले मुलुकमा प्रादेशीक प्रणली लागु हुने निश्चित भएकाले यस क्षेत्रको शिक्षालाई गुणस्तरीय बनाउन यहाँका राजनीतिक दललगायत शिक्षासँंग सरोकार राख्ने सबै निकायलाई आग्रह गर्नुभएको थियो । उहाँले यस क्षेत्रले अन्य क्षेत्रको तुलनामा गुणस्तरिय शिक्षा दिन सक्नुपर्ने आचार्यको भनाइ थियो ।
प्याव्सन दाङका उपाध्यक्ष दीपबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याव्सनका पूर्व केन्द्रीय उपाध्यक्ष शंकर किरण घिमिरे, प्याव्सन दाङका सल्लाहकार लम्बोधर लामिछाने, नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेत, जिल्ला शिक्षा कार्यलय दाङका विद्यालय निरिक्षक नारायण पौडेल, नेपाल शिक्षक संघ दाङका अध्यक्ष अर्जुन योगी, प्याव्सन सल्यानका अध्यक्ष पूर्णबहादुर बस्नेत, राप्ती बबई बहुमुखी क्याम्पसका अध्यक्ष गोपिनाथ योगी, गुरु जजुर उमाविका प्राचार्य विष्णुप्रसाद शर्मालगायतले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव मधु केसीले गर्नुभएको थियो ।
यसैबीच स्थापन दिवसको अवसरमा प्याव्सनले आज मैत्रीपूर्ण भलिबल प्रतियोगीता र हाजिरी जवाफ प्रतियोगीता हुने भएको छ । बिहान साढे सात बजे घोराहीस्थित शान्ति निकेतन विद्यालयको प्रांगणमा पत्रकार महासंघ र प्याव्सनका बीच मैत्रीपूर्ण भलिबल प्रतियोगीता हुने प्याव्सन दाङका अध्यक्ष यादव गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार ११ बजे घोराहीस्थित भ्यालिटप बोर्डिङ स्कुलमा माविस्तरिय हाजिरी जवाफ प्रतियोगिता हुँदेछ ।

Leave a comment