नागरिकको न्युन सहभागीतामा जनताको संविधान कार्यक्रम
दाङ, पुस १९ । जनताले चुनेर पठाएका प्रतिनिधिहरुले बनाएको संविधान तिनै जनतालाई जानकारी गराउने उद्देश्यले सरकारले जनताको संविधान जनताकै माँझमा भन्ने राष्ट्रव्यापी प्रचार अभियान जारी राखेको छ । तराई मधेसमा संविधानका बारेमा भैरहेका टिका टिप्पणीलाई चिर्न जनताको संविधान जनताकै माझमा भन्ने अभियान दाङमा पनि भैरहेको छ । तर लक्षित समुदाय सम्म भने अभियान पुग्न सकेको छैन ।
जिल्ला विकास समिति र घोराही नगरपालीकाको आयोजनामा घोराही नगरपालीकाको सभाहलमा प्रचारात्मक अभियान सिमित भयो । मन्त्री, सांसद सहभागि भएको संविधानको प्रचार अभियान कार्यक्रम जुनरुपमा भव्य हुनुपर्ने थियो त्यसो हुन सकेन । नेपाली र थारुभाषाबाट छापिएको नेपालको संविधानका विशेषताहरु एउटा कुनामा थन्किएका थिए । जसरी नागरिकहरु सहभागी हुनुपर्ने थियो त्यो दृष्य देखिएन । केवल दलका नेता र सरकारी कर्मचारी देखिन्थे । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि र सरकारी कार्यालयका कर्मचारी र घोराही क्षेत्रका केही नागरिक सहभागी देखिन्थे । बन्द हलमा नभई यस्तो कार्यक्रम खुला मैदानमा आयोजना गरेर व्यापक प्रचारप्रसार गर्नुपर्ने अधिकारकर्मी केशवकुमार शर्माको भनाई छ । शहरमा कार्यक्रम गर्दा त नागरिकहरु आएनन् भने दुर दराजका जनताले कहिले संविधान देख्ने र बुझ्ने ? राष्ट्रिय जनमोर्चाका सचिव गणेश आचार्यले भन्नुभयो । भोट हालेका जनताले अझै संविधानका बारेमा बुझ्न नपाएको भन्दै सरकारले कार्यक्रम त ल्यायो तर कोठामा सिमित गर्दै आएको छ । मन्त्री तथा सांसदहरु संविधान सबै वर्ग, समुदायको अधिकार स्थापित गर्ने भएको र समावेशी भएको भाषण गर्दै आएका छन् । तर, दुर दराजका जनताहरुले संविधानको नाम सुनेका छन् तर के–के कुरा लेखिएको छ भन्ने देख्न सकेका छैनन् । सो अवसरमा बोल्दै सामान्य प्रशासन मन्त्री रेखा शर्माले जिल्लाका राजनितिक दलहरुको संयन्त्रले प्रभावकारी प्रचार नगरेका कारण जनताहरु सहभागी नहुँदा आफु पनि सन्तुष्ट नरहेको बताउनुभयो । आम नागरिकसम्म संविधानमा समावेश भएका विषयबारे स्पष्ट पार्न न त यहाँबाट प्रतिनिधित्व गर्ने सबै सांसद पनि देखिए । कार्यक्रममा सहभागी सांसद बुद्धिराम भण्डारीले झनै संविधानका बारेमा नागरिकहरुले बुझिसकेको भन्दै बुझाउन आवश्यक नरहेको बताउनुभयो ।

Leave a comment