बालबालिकाको समस्या चित्रमार्फत अभिव्यक्त
दाङ, मंसिर २८ । दाङको सौडियार गा.वि.स.का बालबालिकाहरुले समाजमा रहेका बिभिन्न समस्यालाई चित्र मार्फत अभिव्यक्त गरेका छन । लामो समयदेखी समाजमा व्याप्त रहेको बालबिवाह, लैंगिक हिँसा, मदिरा सेवन, जुवातास, जन्म दर्ता नहुनु लगायतका समस्यालाई उनिहरुले चित्र मार्फत उजागर गरेका हुन ।
गा.वि.स.स्तरिय बाल सञ्जालको आयोजना तथा सौडियार गा.वि.स.को सहयोगमा भएको बाल भेलामा सहभागी बालबालिकाहरुले बिभिन्न बिधिहरुको प्रयोग गरेर आगामी आर्थिक बर्ष २०७३÷०७४ सालका लागी योजना तथा कार्यक्रम समेत छनौट गरेका छन । सञ्जालका अध्यक्ष रोशनी घर्ती मगरको अध्यक्षता तथा बालमैत्री स्थानिय साशन समितिका अध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा भएको भेलामा सौडियारलाई आगामी असार सम्म बालमैत्री गा.वि.स.घोषणा गर्ने लक्ष्य सहित कार्ययोजना बनाएका छन । जस अनुसार सवै बालबालिकाको जन्म दर्ताका लागी प्रत्येक वडामा जन्म दर्ता शिविर सञ्चालन गर्ने,बढ्दो बालविवाह न्यूनीकरणका लागी पुरेत र मतहवाहरुलाई बालमैत्री अभिमुखीकरण गर्ने,बिद्यालयमा छात्र छात्राका लागी अलग अलग किशोरीमैत्री शौचालय निर्माणका लागी अनुरोध गर्ने,बालबिवाहले पार्ने सामाजिक,मानसिक तथा स्वास्थ्य समस्याका बिषयमा मा.वि.तहमा सचेतना गर्ने कार्ययोजना बनाइएको छ । यस्तै सावुनपानीले हात धुने,लैंगिक हिँसा अन्त्यका लागी टोल टोलमा अभियान चलाउने,बिद्यालय क्षेत्रभित्र खुल्ला मदिरा तथा जुवातास नियन्त्रणका लागी व्यवस्थापन समितिसंग समन्वय गर्ने,स्थानिय बिद्यालय व्यवस्थापन समिति र स्वास्थ्य व्यवस्थापन समितिमा बाल सहभागिता गराउन पहल गर्ने,दक्ष स्वास्थ्यकर्मीबाट मात्रै प्रशुती सेवाका लागी समुदायमा सचेतना अभियान चलाउने लगायतका बिषयलाई पनि कार्ययोजनामा समेटिएको छ । यसरी बनाइएको कार्ययोजना प्राथमीकीकरण गरी गा.वि.स.को एकिकृत योजना तर्जुमा समितिमा पठाइएको गा.वि.स.का सामाजिक परिचालक बिमल योगीले जानकारी दिनुभयो । सञ्जालका कोषाध्यक्ष पुष्पा डागीको स्वागत मन्तव्यबाट सुरु भएको भेलाले सञ्जालको रिक्त उपाध्यक्षमा सुशिल चौधरीलाई चयन गरेको छ भने समाजका सवै नागरिकहरुलाई बालमैत्री व्यवहार अवलम्वन गर्न अनुरोध गरेको छ । भेलाको सहजीकरण सामाजिक परिचालक बिमल योगीले गर्नुभएको थियो ।


Leave a comment