ताजा अपडेट

उवासंघको पहलमा दाउरा बिक्री

        गणतन्त्र समाचारदाता   |   325 Views   |   Published Date : 9th December 2015 |

दाङ, मंसिर २३ । ग्यासको अभावपछि कोठाको चुलो बल्न छोड्यो । राइस कुकरमा खाना र ईलेक्ट्रिक जगमा तरकारी पकाएर गुजारा गरिरहेका नागरिकहरु सरकारले फेरि लोडसेडिङको तालिका ह्वात्तै बढाएपछि बिलखबन्दमा परे । तर, जिल्ला वन कार्यालय दाङ र दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा दाउरा बिक्रि गर्ने चाजोपाँजो मिलाएपछि दाङ घोराहीका धेरैले राहत अनुभव गरेका छन् ।
जिल्ला वन कार्यालयअन्तर्गतको वन पैदावार आपूर्ती समितिको बैठकले दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा घोराहीको वीपी चौक नजिकैबाट दाउरा बिक्रि गर्न थालिएपछि धेरैलाई खाना पकाउन सहज हुने भएको छ । अझ मजदुरी गरेर दैनिकी चलाएका नागरिकहरु भने झनै समस्यामा परेका थिए । यो कार्यले आफूलाई सहयोग पुगेको उनीहरुको भनाइ छ ।
तर, समस्या छ । दाउरा किनेर लगे पनि त्यो सहजै बाल्न मिल्ने किसिमको छैन । चिर्नको लागि साधन नहुनेहरुलाई सालका ठूलाठूला मुढा किनेर झनै समस्या हुनेहरु बताउँछन् । अध्ययन, जागिरलगायत विभिन्न कारणले बजारमा डेरा गरी बस्नेहरुले मुढा किनेर प्रयोग गर्नसक्ने अवस्था नरहेको पनि उनीहरुको भनाइ छ । दाउरा यतिबेला सबैलाई आवस्यक छ । तर, दाउरा किन्न जानेहरुलाई सरसफाई उपभोक्ताको कार्ड अनिवार्य भनिएको छ । जसका कारण डेरावाला र विद्यार्थी झनै मर्कामा परेका छन् । डेरामा बस्ने विद्यार्थीहरुसँंग सरसफाई कार्ड नहँुदा उनीहरुले दाउरा किन्नबाट समेत सञ्चित हुनु परेको छ । तर, पनि विद्यार्थीदेखि ग्यासको कारोवार गर्दै आएका डिलर सञ्चालकहरुले समेत दाउरा किनेर लगेका छन् ।
नाकाबन्दी पछि सरकारले ७५ प्रतिशत ग्यास राजधानी र २५ प्रतिशत ग्यास स्थानीय रुपमा वितरण गर्ने नीति बनाएपछि अहिले आम सर्वसाधारणहरु मारमा परेका छन् । यो असहज स्थितिमा सहयोग गर्न खोजेको दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव दीपक सुवेदीले बताउनुभयो । संघले घोराहीको वीपी चोकमा मंगलबारबाट बिहान १० बजेदेखि ४ वजेसम्म दाउरा बिक्री सुरु गरेको छ ।
प्रतिपरिवारलाई प्रतिकिलोको साढे ९ रुपैयाँ दरले ५० किलो दाउरा उपलब्ध गराइने संघका महासचिव दिपक सुवेदीले जानकारी दिनुभयो । जिल्लाका दुई स्थान जीवनज्योती सामुदायिक वन लक्ष्मीपुर १ बेलदमार र पुरन्धारा हापुरेको राष्ट्रिय वनबाट दाउरा संकलनका लागि संघलाई वन कार्यालयले अनुमति दिएको छ । अनुमति अनुसार संघले ढुवानी गरी उपभोक्ताहरुलाई बितरण गर्न थालेको हो ।
विभिन्न १५ वटा सामुदायिक वन समूहले आपूर्ती समितिलाई दाउरा रहेको जानकारी गराएका थिए । तीमध्ये दुई स्थानबाट दाउरा संकलन र बिक्री थालिएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत गोकुल चौधरीले जानकारी दिनुभयो । ग्यासको प्रयोगबाट खाना पकाउँदै आएका घोराही बजारका नागरिकहरुलाई लक्षित गर्दै दाउरा बिक्रि थालिएको आपूर्ती समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीले जानकारी दिनुभयो ।
ग्यासको चरम अभावले प्रताडित आम नागरिकलाई उद्योग वाणिज्य संघले गरेको कामबाट प्रत्यक्ष लाभ पुगेको छ । तर, विद्यार्थी र विभिन्न कामले डेरा गरेर बस्नेहरुलाई भने अझै समस्या बनेको छ । त्यसकारण सहज रुपले सबैले दाउरा किन्न पाउने व्यवस्था गर्न उद्योग वाणिज्य संघले प्रयास गर्नुपर्छ ।
यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष खड्क बुढाथोकीले इन्धन अभावका कारण उत्पन्न समस्या टार्नका दाउरा बिक्रीकेन्द्र सुरु गरेको जनाउनुभयो । संघले सुरु गरेको सेवा लिन घोराहीबासीलाई बुढाथोकीले आग्रह गर्नुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१