ताजा अपडेट

रुपान्तरणका लागि गीतसंगीत

          |   244 Views   |   Published Date : 24th November 2015 |

समाज रुपान्तरणका लागि विभिन्न विषयले भूमिका खेल्दछन् । यस मध्ये गीतसंगीत पनि सशक्त माध्यम हो । यसलाई सही ढंगबाट प्रयोग गर्नसकेमा सामाजिक रुपान्तरणको पाटोलाई सबल र सुदृढ बनाउने कार्यमा सहजता आउनसक्छ । बिगतदेखि नै मुलुकमा भएका ठूलाठूला आन्दोलनहरुमा पनि मानिसहरुमा जागरण, चेतना र क्रान्तिमा जनताको सहभागिता बढाउन सन्देशमुलक गीतसंगीतले ठूलो भूमिका खेलेको छ । यतिबेला नेपालको परिदृश्य हेर्ने हो भने गीतसंगीतलाई मनोरञ्जनको साधन बनाउने र यसलाई बिकृतीतर्फ उन्मुख गराउने जमातहरुको संख्या अधिक भएको हामीले पाउँदछौं । खासगरी गीतसंगीतलाई व्यवसायिकताको नाममा अगाडि बढाउन खोजिदा यसप्रतिको आकर्षण र यसको व्यवसायिक मापन मनोरञ्जनात्मक गीतसंगीतले बढी लिन थालेपछि यही रफ्तारमा अगाडि बढ्ने जमातहरुको बर्चस्व बढ्दै गएको हो । यति हुँदाहुँदै पनि सामाजिक रुपान्तरणका लागि गीतसंगीतमा समर्पित हुनेहरुको संख्या पनि त्यतिकै मात्रामा छ । यदि राज्यले समाजरुपान्तरणको मार्गमा गीतसंगीतको क्षेत्रमा लागेकाहरुलाई सहयोगी दृष्टि फिजाउन सक्यो भने निश्चितरुपमा गीतसंगीतको क्षेत्रमा मुलुक बनाउने योद्धाहरुको जमात बढ्ने थियो ।
सामन्तवादको अगुवाई गरिरहेको राजतन्त्र समाप्त भएर संविधानसभाबाट संविधान निर्माण भएपनि विद्यमान विभेदकारी नीति, सोंचाइ, सिद्धान्त र मान्यताहरुका कारण अहिले पनि गीतसँगीतको महत्वलाई व्यापक बनाउन सकिएको छैन ।
राज्यकोतर्फबाट समेत समाज रुपान्तरणको अभियानमा गीतसंगीतको क्षेत्रमा लागेका कलाकारदेखि कलासंस्कृतिसम्मको जगेर्णा र विकासका लागि भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । समाज रुपान्तरणमा लागेका कलाकारहरुको मनोभावना उच्च बनाउने किसिमका कार्यक्रमहरु राज्यले गर्नुपर्छ । पुरस्कार, सम्मानको व्यवस्था पनि गरिनु पर्दछ ।
२००७ साल, २०४६ होस् वा २०६२÷०६३ को जनआन्दोलनमा परिवर्तनशील गीतसंगीतले आन्दोलनलाई उर्जा प्रदान गर्न ठूलो भूमिका निर्वाह गरेको थियो । यस हिसाबले पनि गीत संगीतको महत्वलाई राज्यले नै उजागर गर्ने सन्दर्भमा ध्यान दिनुपर्छ । गीत संगीतको संरक्षण, जगेर्णा र सम्वद्र्धनका लागि राज्यले लिने नीतिले पनि धेरै प्रभाव पार्ने भएकाले यसतर्फ सत्तामा बस्नेहरुले विशेषरुपमा ध्यान दिनुपर्छ । परिवर्तनको पक्षमा लागेर गीतसंगीतकै लागि जीवन खर्चिएका धेरै सर्जकहरुको अहिले पनि अवस्था दयनीय छ । मुलुकमा राजनीतिक परिवर्तन भइसकेपछि त्यस्ता सिर्जनशील कलासंगीतकर्मीहरुलाई सम्झने सवालमा राज्य उदाशिन बन्नु हुँदैन । मुलुक सहजरुपमा अगाडि बढेको समयमा अफ्ठ्यारो परिस्थितिमा भूमिका निर्वाह गरेकाहरुलाई सम्झने परिपाटीको विकास गरेमात्र समाज रुपान्तरण र विकासमा कलाकर्मीहरु सधैभरी समर्पित हुनेछन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१