ताजा अपडेट

प्लास्टिक झोलामा रोक लगाऔं

          |   296 Views   |   Published Date : 23rd November 2015 |

दाङ एशीयाकै ठूलो र सुन्दर उपत्यका हो । दाङलाई व्यवस्थितरुपमा अगाडि बढाउन सकेको खण्डमा दाङ विश्वमै चर्चा गर्न लायक ठाउँ बन्नसक्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा दाङको घोराही अहिले मुलुककै उत्कृष्ट नगरपालिकाहरुमा पर्दछ भने तुलसीपुरले पनि राम्रो काम गरिरहेको छ । घोराही नगरभित्र रहेका ल्याण्डफिल साइट नेपालमै नमूनामा गनिन्छ । तर, केही समययता बजारमा अत्यधिक बढेको अनियन्त्रिक प्लास्टिकको झोला प्रयोगले एकातिर ल्याण्डफिल साइट अस्तव्यस्त हुँदै गएको छ,भने अर्कोतर्फ वातावरणसमेत व्यापकरुपमा प्रदुषित हुने खतरा छ । घोराही बजारका केही स्थानमा नगरपालिकाले फोहोर उठाउने प्रबन्ध मिलाएको छ । बजारमा अत्यधिक प्लास्टिकको प्रयोग हुने भएकाले गल्ने फोहोर र नगल्ने फोहोर छुट्टाउनका लागि समेत समस्या परिरहेको देखिएको छ । यसैगरी नगरपालिकाले फोहोर उठाउने प्रबन्ध नगरेका स्थानमा रहेका खाली जमिन, खेतबारी, खोला, कुलामा जताकतै प्लास्टिकै प्लास्टिक भएकाले यसबाट नगरमा व्यापकरुपमा प्रदुषण फैलिएको छ । यसैगरी खेतबारीमा अन्न उत्पादन हुन छाडेको छ, भने खोला, कुलाहरुमा पानीको सतह घटेका छन् । बजारका नालाहरुसमेत प्लास्टिकका कारण बुझिएका छन् । यदि समयमै प्लास्टिक मुक्त जिल्लाकारुपमा दाङलाई स्थापना गर्न सकिएन भने यो भन्दा ठूलो दुर्भाग्य केही हुनेछैन ।
विश्वमा जलवायु परिवर्तन हुने र वातावरण प्रदुषित हुनेक्रम तीब्ररुपमा बढेको छ । स–साना कुराहरुमा ध्यान नदिने, लापरवाही गर्नेलगायतका कार्यहरुले गर्दा मानव जीवन नै संकटमा पर्ने सम्भावनाहरु बढेको छ । कम विकसित मुलुकहरुले
वातावरण प्रदुषणबाट हुने हानीबाट बच्न अन्य कुनै वैकल्पिक उपाय गर्न नसक्ने भएकाले पनि नेपाल जस्तो अल्पविकसित मुलुकले वातावरण स्वच्छ राख्न नागरिकस्तरबाटै गर्नसक्ने कार्यलाई बढी प्राथमिकता दिनुपर्छ । दाङलाई पनि वातावरणमैत्री जिल्ला बनाउनका लागि हामीले गर्न सक्ने कार्यलाई बढावा दिनुपर्छ । प्लास्टिक नियन्त्रण, प्रशस्त वृक्षरोपण, वृक्षरोपण संरक्षण, प्राकृतिक सम्पदाको संरक्षणलगायतका कार्यहरु गर्नेतर्फ ध्यान दिनुपर्छ । तर, यी सबै कार्यहरुलाई प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायहरुले अभियानको थालनी गर्दै त्यसमा सिंगो जिल्लालाई सहभागी हुने वातावरण निर्माण गर्न जरुरी छ । त्यसैले छिटो भन्दा छिटो दाङलाई प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि नगरपालिका, प्रहरी–प्रशासन, उद्योग वाणिज्य संघ, पत्रकार, नागरिक समाज, राजनीतिक दल सबैले आ–आफ्नोतर्फबाट भूमिका निर्वाह गरौं । अभियान नै सञ्चालन गरेर दाङलाई ‘प्लास्टिक मुक्त जिल्ला बनाऔं, वातावरण संरक्षण गरेर समाज दुर्गन्धित र प्रदुषित हुनबाट जोगाऔं ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१