भैलोको रकम टोलको विकासमा
दाङ कार्तिक ४ । परम्परागत संस्कृति संरक्षणका लागि गठन भएको साँस्कृतिक समूह घोराही दाङले यस वर्षको भैलोबाट संकलित रकम टोलको विकासमा खर्च गरेको छ । घोराही ११ जनप्रतिभा टोलमा गठन भएको सो समूहले यसवर्ष जम्मा भएको केही रकमले जनप्रतिभा टोलको सडक पोलहरुमा बिजुली बत्ती जोडिएको समूहका अध्यक्ष देवेन्द्र केसीले जानकारी दिनुभयो ।
यसवर्ष जम्मा भएको ७८ हजार २ सय १४ मध्ये ३० हजार बराबरको रकमले गुलरिया पार्क हुँदै रतनपुर पाठक चोकसम्मका सडक पोलहरुमा बिजुली बत्ती जडान गरिएको, ३० हजार रकमका बाद्यवाधनका समान खरिद गरिएको र बचेको १८ हजार रकम भैलोमा संलग्न समूहले वनभोज गरेको संस्थाका कोषाध्यक्ष यमबहादुर केसीले बताउनुभयो ।
मंसिर ३ गते बिहीबार सो समूहले वनभोज तथा भैलो समापन कार्यक्रमको आयोजना गरी यस्तो जानकारी गराएको हो । कार्यक्रम समूहका अध्यक्ष देवेन्द्र केसीको अध्यक्षता एवं प्राध्यापक अम्विकाप्रसाद डाँगीको प्रमुख आतिथ्यतामा भएको थियो । सो अवसरमा साहित्यकार श्रीकृष्ण शर्मा, जनप्रतिभा टोल विकास संस्थाका पूर्व अध्यक्ष भोपलाल रोका, विकास नगर टोल विकास संस्थाका अध्यक्ष घनश्याम गिरी, जनप्रतिभा टोेल विकास संस्थाका अध्यक्ष सनम केसीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले हराउँदै गएको लोकसंस्कृति संरक्षणमा समूहले खेलेको भूमिकाको प्रशंसा गर्दै अझ सृजनात्मक र परम्परागत संस्कृतिको संरक्षणमा लाग्न अनुरोध गरेका थिए । समूहले रुकुममा प्रचलित सिङ्गारु नाच र सल्यानमा प्रचलित टप्पा नाच प्रदर्शन गर्ने गरेको छ । समूहले प्रत्येक वर्ष संकलित रकमबाट विकास निर्माण र परम्परागत नृत्य र बाद्यवादनका लागि आवश्यक पर्ने समान खरिद गर्ने गरेको छ ।
यसैगरी भैलोबाटै संकलित रकमबाट टेन्ट र सामाजिक कार्यमा आवश्यक पर्ने भाँडाकुँडा खरिद गरेर भाडामा समेत दिँदै आएको छ । संस्थाका सल्लाहकार भीउसन गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य कपिल पोख्रेलले सञ्चालन गर्नुभएको थियो ।


Leave a comment