जिल्लाका ६ गा.वि.स.मा साझेदारी कार्यक्रम चल्ने
घोराही, मंसिर ४ । दाङको ६ वटा गा.वि.स.मा स्थानिय विकासका लागी साझेदारी कार्यक्रम सञ्चलन हुने भएको छ । समुदायलाई आफ्ना विकासका लागी शसक्त बनाउने, सामुदायिक विकासका लागी बातावरण निर्माण गर्ने, विकासका श्रोत साधनहरुमा समुदायका नागरिकहरुको पहुँचअभिबृद्धि गर्ने, समुदायमा समावेशी तरिकाले विकास गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन हुन थालेको हो । व्याकवार्ड सोशाइटी एजुकेशन सेन्टर वेसको आयोजना तथा युएसएआइडी नेपालको सहयोगमा कार्यक्रम सञ्चालन हुने भएको हो । दाङको सौडियार सहित लालमटिया, सिसहनिया, सतवरिया, बेला र हाँसीपुर गाविसमा सञ्चालन हुने कार्यक्रम अन्तरगत स्थानिय सुशासन र महिला शसक्तिकरण गरी दुइ प्रकारका गतिविधि सञ्चालन हुनेछन् । जसका लागी तीन करोड ५४ लाख ६ हजार चार सय ६६ रुपैया बजेट बिनियोजन गरिएको छ । सो रकमबाट जिल्ला तथा गा.वि.स.स्तरिय समन्वय बैठक, गा.वि.स.को आन्तरिक आय विश्लेषण तथा प्रक्षेपन कार्यमा सहयोग, गाविसको पाश्र्वचित्र तयारीमा सहयोग, सहभागीतामुलक योजना तर्जुमा प्रक्रियामा सहयोग, वडा नागरिक मञ्च तथा नागरिक सचेतना केन्द्रको बैठक नियमित बनाउन सामाग्री सहयोग, स्थानिय जवाफदेहिताका औजारहरुको प्रयोग गर्न समुदायलाई सक्रिय बनाउने जस्ता काम गरिने वेसका सुशासन संयोजक नरबहादुर चौधरीले जानकारी दिनुभयो । यसैबिच परियोजनाका विषयमा ४ मसिर शुक्रवार घोराहीमा सरोकारवालाहरुसँग समन्वयतात्मक बैठक गरिएको छ । जिल्ला विकास समितिका योजना तथा अनुगमन अधिकृत बासुदेव आचार्यको अध्यक्षतामा भएको बैठकमा सहभागीहरुले कार्यक्रम गर्दा दोहोरोपन नआउने गरी गर्न सुझाब दिएका छन् । पछिल्लो समयमा गैरसरकारी संस्थाहरुले गर्ने कार्यक्रम एक स्थानमा एकै प्रकारको हुने गरेकाले त्यस्ता अवस्था आउन नदिन सचेत हुनुपर्नेमा जोड दिएका छन् । बैठकमा वेसका सचिव रुपलाल चौधरी, प्याक्ट नेपालका गोविन्द अधिकारी, सौडियार गा.वि.स.का सचिव टेकबहादुर खड्का, सतबरिया गाविसका सचिव हिरालाल चौधरी, दाङ प्लसका कार्यकारी निर्देशक प्रकाश नेपाल, महिला शसक्तिकरण संयोजक उमेश बस्नेत, पत्रकार जेएन सागर, दिवाकार पोख्रेल, वेसका बोर्ड सदस्य आशाराम चौधरी लगायतले कार्यक्रम कार्यान्वयनका लागी बिभिन्न किसिमका सुझाब दिनुभएको थियो । बैठकको सहजीकरण वेसका फिल्ड सुपरभाइजर सिता विष्टले गर्नुभएको थियो ।


Leave a comment