ताजा अपडेट

सफल व्यवसायी बन्ने मेरो सानैदेखिको लक्ष्य थियो : कुलद्दिप न्यौपाने

        प्रस्तुती : देविका घर्ती मगर   |   696 Views   |   Published Date : 20th November 2015 |

प्रस्तुती : देविका घर्ती मगर
कुनैपनि काम एकैचोटी ठूलै भाग हात पार्छु भनेर अगाडि बढ्यो भने त्यो सायद सफल नहुन सक्छ । तर त्यही काम सानै रकम अथवा लगानीबाट पनि सुरु गर्छु भन्ने मान्यताका साथ अगाडि बढ्यो भने त्यो काम पक्कै पनि कुनै न कुनै दिन अवश्य सफल हुन्छ । हरेक हप्ता ‘सफलताको कथा’ स्तम्भमार्फत तपाईहरुको माझमा कुनै न कुनै नयाँ व्यक्तिलाई उपस्थिति गराउने म । गएको दुई हप्ता भने आफ्नै स्वास्थ्यको अस्वस्थताका कारण आउन असमर्थ भएँ । त्यसका लागि तपाईहरुको माझमा क्षमा माग्न चाहन्छु । र आज त्यसैको निरन्तरता स्वरुप सानै लगानीबाट व्यवसायमा अगाडि बढेका एक जना उर्जाशील युवा व्यवसायीलाई तपाईहरुको माझमा उपस्थित गराएको छु ।
कसैको जीवनको सफलता वा भनौ न कुनै व्यक्तिले आफ्नो जीवनमा गरेको संघर्षको कथा तपाईहरुको जीवनमा पनि पे्ररणाको स्रोत अथवा तपाईको जीवनलाई पनि अगाडि बढाउने क्रममा केही सहयोगी बन्न सक्छ । अथवा तपाईले जीवनमा गरेका संघर्षको कथाले कसैको जीवनलाई अगाडि बढाउनका लागि मार्गदर्शक बन्नेछ । यस्तै उद्देश्यका साथ हामीले केही समयअघिदेखि यस गणतन्त्र दैनिकमार्फत समाजमा कुनै न कुनै रुपमा सफल भएका व्यक्तिहरुसंगको कुराकानी पस्कदै आएका छौ । त्यसैक्रममा आज मेरो भेट भयो २०६० सालबाट घोराहीमा आएर औषधीको बिक्री वितरकको व्यवसाय गर्दै आउनुभएका कुलदीप न्यौपानेसंग । हेर्दा पनि हँसिला लाग्ने, लालमटिया गाविस–४ लालमटियामा २०३६ सालमा बाबा निमराज न्यौपाने र आमा हरिकला न्यौपानेको कान्छा छोराका रुपमा जन्मनुभएका कुलदिप व्यावसायिक क्षेत्रमा आफूलाई सफल भएको ठान्नुहुन्छ । पारीवारिका वातावरण सानै उमेरदेखि व्यावसायिक भएका कारण आफूले पनि सानैदेखि सफल व्यवसायी बन्ने लक्ष्य लिएका कुलदिप परिवारमा १ दाजुका भाई र १ बहिनिका दाजु हुनुहुन्छ । आदर्श माध्यमिक विद्यालय लालमटियाबाट २०५२ सालमा एसएलसी परीक्षा उत्तिर्ण गर्नुभएका कुलदिपले २०५२ सालदेखि नै लालमटियामा सानो लगानीमा किराना पसल शुरु गरी व्यावसायिक क्षेत्रमा प्रवेश गर्नुभएको थियो । व्यावसायिक क्षेत्रमा निकै लगाव भएका कारण विस्तारै त्यसै क्षेत्रमा धेरै समय दिनुपर्ने भयो, त्यसकारण उहाँले एसएलसी उत्तिर्ण पछि महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङमा प्रमाणपत्र तह अध्ययन गर्दागर्दै औपचारिक अध्ययन बीचैमा छाड्नुपरेको थियो । शुरुमा व्यवसाय शुरु गर्दा धेरै लगानीबाट शुरु गर्नुभन्दा पनि सानै लगानीबाट व्यवसाय शुरु गरेर बिस्तारै बढाउँदै लग्यो भने त्यो व्यवसायी भविष्यमा गएर सफल हुने उहाँको मान्यता रहेको छ । किराना पसलबाट व्यवसाय शुरु गर्नुभएका कुलदिपले व्यवसायमा सफल हुदै गएपछि २०५८ सालबाट लमहीमा ईलेक्ट्रोनिक्स व्यवसाय शुरु गर्नुभएको थियो । लालमटिया, लमही हुँदै २०६० सालमा घोराहीमा आयोग मेडिकल सञ्चालन गर्नुभएका उहाँले त्यसको केही समयदेखि राप्ती क्षेत्रमा औषधिको डिष्ट्रिब्यूसन गर्ने काम गर्दै आउनुभएको छ । २०६१ सालबाट आफ्ना दाजु दिपेन्द्रसंगै मिलेर उहाँले घोराहीमा हनि मेडिको डिष्ट्रिब्यूटर स्थापना गरी स्वास्थ्य क्षेत्रको व्यवसाय शुरु गर्नुभएको थियो ।
आफ्ना दाजु दिपेन्द्र अहेव भएका कारण आफूहरु दुवैलाई व्यवसाय सञ्चालन गर्नका लागि निकै सहयोग भएको बताउने कुलदिप पारीवारिक सहयोगका कारण आज आफू सफल हुन सकेको बताउनुहुन्छ । ‘कुनैपनि काममा सफल हुनका लागि परिवारको सहयोग अनिवार्य चाहिन्छ, उहाँले भन्नुभयो—मेरो परिवार पहिलेदेखि नै व्यावसायिक क्षेत्रमा केही न केही रुपमा जोडिएको थियो । त्यसकारण हामीलाई व्यवसाय अगाडि बढाउनका लागी परिवारबाट धेरै नै सहयोग प्राप्त भयो ।’ व्यापारका बिभिन्न क्षेत्रमध्ये स्वास्थ्यको क्षेत्र धेरै नै सम्बेदनशील क्षेत्र भएका कारण र यस क्षेत्रमा काम गर्ने व्यक्तिलाई समाजले पनि त्यही अनुसारको सम्मान दिने भएका कारण यसै क्षेत्रमा काम गरेको उहाँको भनाइ रहेको छ । २०६० सालमा नै मानपुर दाङका शर्मीला न्यौपानेसंग विवाह गरेका कुलदिपका १ छोरा र १ छोरी रहेका छन् । सामाजिक कार्यमा कुनै न कुनै रुपमा सहभागी हुन मन पराउने कुलदिप हाल औषधी थोक बिक्रेताको राप्ती अञ्चल सदस्य समेत रहनुभएका कुलदिप भर्खर मात्र सम्पन्न भएको दाङ उद्योग बाणिज्य संघको सदस्यमा निर्वाचित समेत हुनुभएको छ । व्यावसायिक क्षेत्रमा नै आफूलाई समर्पित गरेका कारण यसै क्षेत्रमा केही गर्ने उहाँको सोंच रहेको छ । समग्रमा दाङ जिल्लाका व्यापार व्यवसाय सन्तोषजनक नै भएको बताउने उहाँले तत्कालीन नेकपा माओवादीले जनयुद्वको नाममा सञ्चालन गरेको सशस्त्र युद्वको समयमा भने निकै दुःख कष्टका साथ व्यवसायलाई अगाडि बढाउनुपरेको बताउनुभयो । ‘त्यतिबेला त काम गर्न कुनै क्षेत्रलाई सहज थिएन, त्यसका बाबजूद पनि हामीले हाम्रो कामलाई शुरु गरेका थियौं । निकै नै दुःख बेहोर्नु परेको थियो–उहाँले भन्नुभयो, खासगरी रोल्पा, रुकुम लगायतका क्षेत्रमा औषधि पठाउन निकै समस्या हुँन्थ्यो । सेना, प्रहरी ले माओवादीलाई औषधि पठाईदिईस भनेर धेरै नै दुःख दिन्थे ।’ त्यतिबेलाको समयमा मैले औषधि डिष्ट्रिब्युशन गरेकै कारण मलाई प्रहरीले हिरासतमा लगेको थियो, त्यो क्षण मेरो जीवनमै कहिल्यै बिर्सन नसकिने क्षण हो—विगतका कुरा सम्झदै उहाँले भन्नुभयो, धन्न बाँचियो । मिाजमा बसिसकेपछि कुनै न कुनै रुपमा प्रत्ययेक व्यक्तिको सामाजिक उत्तरदायित्व पनि हुने भएका कारण समाजका लागि पनि आफुले सक्दो योगदान दिनुपर्ने बताउने उहाँले व्यवसायलाई नाफामुखी मात्र नभएर सेवामुखी भएर पनि सञ्चालन गर्नुपर्ने बताउनुहुँन्छ । ‘मैलेपनि व्यवसाय शुरु गर्दा सानैबाट शुरु गरेको थिए, शुरुमा धेरै नापाm खोज्न थाल्यो भने त्यो व्यवसाय सफल हुन सक्दैन, उहाँले भन्नुभयो–हामीले व्यवसाय सञ्चालन गर्दा समाजको उत्तरदायित्व पनि हुने भएका कारण समाजलाई ख्याल गरेर व्यवसाय शुरु गर्नुपर्छ ।’ जिल्लाको व्यवसायलाई अझ व्यवस्थित र मर्यादित बनाउनका लागि आफुले निरन्तर प्रयास गरिरहेको बताउने कुलदिप भविष्यमा सबै किसिमबाट दाङको व्यवसायलाई माथि उठाउनका लागि सबैले ध्यान दिनुपर्ने बताउनुहुँन्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र राष्ट्रिय दैनिकका लागि प्रकाशक/सम्पादकः सबिन प्रियासन